काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले बुधबारसम्ममा आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट आजसम्म आवेदन माग गरेको थियो । मन्त्रालय स्रोतका अनुसार १९ जना आवेदक दर्ता गरिएको छ । उनीहरूको आवेदन फाइल खोल्ने काम भइरहेको छ ।

यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषदले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा यसअघि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । समिति सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर तथा व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । यहीं समितिले आवेदकमध्येबाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले कार्यकारी अध्यक्षविहीन छ ।

अध्यक्षले धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्ने गर्छन् । अर्थान् धितोपत्र बोर्डको अध्यक्ष कार्यकारी पद हो । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको व्यक्ति बोर्डको अध्यक्षका लागि योग्य हुने धितोपत्र सम्बन्धी ऐन २०६३ मा उल्लेख छ ।

अध्यक्षको पदावधि चार वर्षको हुने र उसलाई पुनः बढीमा चार वर्षको लागि नियुक्त गर्न सकिने व्यवस्था पनि ऐनमा छ । धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version