काठमाडौं, फागुन ३० गते
प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रहरु बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नुहुँदै विश्वका शक्ति राष्ट्रहरु बिचको प्रत्यक्ष÷परोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको बताउनु भयो ।
रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापतिले सो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताहरुको संरक्षण सहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधिहरु सञ्चालन गर्न प्रयत्नशील हुने अबस्था रहेको बताउनु भयो ।
उहाँले नेपालले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीतिहरु अख्तियार गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
प्रधान सेनापति शर्माले नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरुको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको उल्लेख गर्दै आन्तरिक रुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरुका साथै सुसुप्त अवस्थामा रहेका केहि विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरुले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताउनु भयो ।
राष्ट्रिय सुरक्षाको सन्दर्भमा देखिएको चुनौतिका विषयमा चर्चा गर्दै उहाँले श्रम आप्रवासन, युवाको बैदेशिक पलायन, विभिन्न युद्धरत देशहरुका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरु, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट हाम्रो खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि लगायगका विषय हाम्रा लागि मानव सुरक्षाका दृष्टिकोणले तत्काल विचार गर्नुपर्ने महत्त्वपूर्ण विषय बनेको स्पष्ट पार्नुभयो ।
समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता रहेको बताउनु भयो । उहाँले विशेषतः उच्च पदस्थ अधिकारीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बध्द महत्त्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामहरू लगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुने बताउनु भयो ।
रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण आजबाट मिति २०८० चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी तथा सञ्चारकर्मीसहित तीस जनाको सहभागिता रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version