काठमाडौँ:
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन्।

अहिले नयाँ सत्तासमीकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन्।

कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोसिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो।

‘के ६/६ महिनामा, एक एक वर्षमा गठबन्धनहरु टुटने, भत्किने, फेरी बन्ने गर्न थाल्यो भने देशको विकास हामीहरुले कहिले गर्ने? केन्द्रमा हुने भयोभयो। अब सात वटै प्रदेशमा हुँदैछ। भोली यही प्रदेश वागमती प्रदेशबाट सुरु हुन्छ। सातै वटै प्रदेशमा हुन्छ,’ उनले अघि भने, ‘फेरी अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिना पछि। पक्कै बन्छ। किन हामी विपक्षमा छौं। हामी कोशिस गरिराखेका हुन्छौ सत्तामा जानका लागि। त्यो स्वभाविक हो। यसरी देश अगाडि बढन सक्दैन।’

शनिबार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे।

‘नेपाली कांग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन। सिटै छैन। ३२ सिट केन्द्रमा छ। ९० सिट हामीहरुको छ। अनि माओवादीलाई दिँदै जाने। पुलपुलाउँदै जाने?,’ उनले प्रश्न गरे।

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताए।

आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राख्दै उनले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे।

नेता कोइरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version