काठमाडौँ: आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ रनले पराजित भएको छ।

शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो।

यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ।

नेपालले लिग चरणमा गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो।

शुक्रबार ब्याटिङमा नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे।

ओपनर कुशल भुर्तेल १६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिल साहले १ रन मात्र जोड्न सके।

गुल्सन झा २ रनमा पेभिलियन फर्कदा विवेक यादवले १७ रन बनाए। करण केसी ० र प्रतिश जिसी ६ रन जोडेर आउट भए।

कुशल मल्ल पनि १९औं ओभरमा ३ आउट हुँदा नेपालको आसा सकिएको थियो।

बलिङमा बरोडाका ध्रुव पटेलले ४ विकेट र लक्षित तोक्सियाले ३ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोड्यो।

उसका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रन जोडे।

बलिङमा नेपालका करण केसी र गुल्सन झाले २-२ विकेट लिए। आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट लिए।

खेलका लागि नेपाली टिममा चार परिवर्तन गरिएको थियो। दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको थियो। अघिल्लो खेलमा उनी टिममा थिएनन्।

खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेखलाई आराम दिइयो। न करण केसी टिममा फर्किदा नेपालले आकास चन्द र ललित राजवंशीलाई पहिलो पटक खेलायो।

नेपाली टिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह (विकेटकिपर), करण केसी, गुल्सन झा, प्रतिश जिसी,आकास चन्द, ललित राजवंशी।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version