काठमाडौँ: यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको छ ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।
पछिल्लो पटक सरकारले २०७२ माघ २४ गते भाडा दर परिवर्तन गरेको थियो। त्यतिबेला पेट्रोलको भाउ प्रति लिटर ९९ रुपैयाँ र डिजेलको ७५ रुपैयाँ थियो।
