काठमाडौँ: इन्धन आपूर्तिमा सहज भएसंगै नेपाल आयल निगमले इन्धन वितरणमा लगाइएको कोटा प्रणाली हटाएको छ ।
चालकहरुले आन्दोलन फिर्ता लिएपछि तेल आपूर्तिमा सुधार भएकोले निगमले आइतबारबाट कोटा प्रणाली हटाएको निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए ।
उनले भने-“इन्धन आपूर्ति सामान्य भैसकेको छ र निगमले डिलरले मागे अनुसार इन्धन वितरण गरेको छ ।”
इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले असोज ५ गते नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको थियो ।
निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराएको थियो ।
ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प थियो भने काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द थिए ।
