काठमाडौँ, बैशाख ३१: नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो ।

बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले भने, ‘संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’

उनले कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । ‘संसदको गतिरोध अन्त्य नहोस् भनेर सरकारले नै चाहेको हो कि भन्ने हाम्रो निष्कर्ष हो । हाम्रो जे निर्णय हो त्यो यथावत् हो’, उनले भने ।

नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version