काठमाडौँ:
अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले पहल सुरू गरेको छ।

बिहीबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको हो।

मन्त्री श्रेष्ठले भने, ‘सन्दीपको भिसाको लागि हामीले मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेका छौँ।’ अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने उनले बताए।

अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ। सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि हुँदै छ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले ह्युस्टनमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version