काठमाडौँ: नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो।

यो तापक्रम यसपालिकै सबैभन्दा बढी रहेको मौसमविद सरोज पुडासैनीले बताए।

पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो।

शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ।

धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

अघिल्लो दिन (जेठ ११ गते) नेपालगन्जको तापक्रम ३८.८ डिग्री सेल्सियस थियो।

त्यसपछि लगातार बढ्न थालेको तापक्रम जेठ १३ गते ४१ डिग्री सेल्सियस, जेठ १४ गते ४० डिग्री सेल्सियस, जेठ १५ गते ४१.७ डिग्री सेल्सियस, जेठ १६ गते ४२.८ डिग्री सेल्सियस र जेठ १७ गते (हिजो) ४४.२ डिग्री सेल्सियस पुगेको हो।

धनगढीको पनि जेठ १२ देखि तापक्रम ४०.३ डिग्री सेल्सियस नाघेको हो।

जेठ ११ गते धनगढीको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसपछि बढ्न थालेको तापक्रम जेठ १३ गते ४०.८ डिग्री सेल्सियस, जेठ १४ गते ४१.३ डिग्री सेल्सियस, जेठ १५ गते ४२ डिग्री सेल्सियस, जेठ १६ गते ४३.३ डिग्री सेल्सियस र जेठ १७ गते (हिजो) ४४.१ डिग्री सेल्सियस पुगेको हो।

नेपालगन्ज र धनगढीसहित पश्चिम तराईका भूभागहरुमा तातो हावाको चेतावनी पनि महाशाखाले यसअघि नै दिइसकेको छ। यहाँ न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस वरपर रहेकाले अत्यधिक गर्मी भएको छ।

पूर्वी र मध्य तराईका जिल्लाहरूमा पश्चिम तराईको तुलनामा तापक्रम घटेको छ।

विराटनगरमा बुधबार अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस मापन भएको थियो। त्यो भनेको काठमाडौंको भन्दा कम हो।

काठमाडौंमा पनि बिहीबार ३४.४ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो। यसअघि जेठ ११ र १२ गते पनि काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको मौसविद पुडासैनीले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version