काठमाडौँ:
फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा बिहीबार राति भएको दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित भएको हो। नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो।

विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन। छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन।

युएईका लागि हरिब अब्दुल्लाह सुहेलले दुई गोल गरअलि सलेह र अजेन मोहम्मदले समान एक गोल गरे।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अजेन मोहम्म्दले खेलको ७४ औँ मिनेटमा गोल गर्दै युएईको अग्रता फराकिलो पारे। त्यसअघि खेलको ५३ औँ मिनेटमा अलि सलेहको गोलमा नेपाल ३–० ले पछि पर्यो।

पहिलो हाफको १२ औँ मिनेटमा हरिब अब्दुल्लाह सुहेलको हेडर गोलमा युएईले सुरुवाती अग्रता बनाएको थियो। अब्दुल्लाह एड्रिसको क्रसमा उनले आकर्षक हेडर गोल गरेका हुन्।

त्यसको दुई मिनेटमा नै सुहेलले दोस्रो व्यक्तीगत गोल गर्दै युएईको अग्रता दोब्बर पारे। उनले अलि सलेहको पासमा बललाई पोष्टको जाली चुमाएका थिए।

खेलको २१ औँ मिनेटमा मोहम्मद अब्बासको फितलो प्रहार गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए। २२ औँ मिनेटमा अल मन्सुरीको क्रस डिफेन्डर रोहित चन्दले क्लीयर गरे।

खेलको ३७ औँ मिनेटमा सनिस श्रेष्ठको क्रस सन्जिवको हेडर क्रसबारमा लाग्दै फर्किएको बललाई अविशाल बस्नेतको हेडर क्रसबारमा लाग्दै बाहिरिदा नेपालले गोल फर्काउने सुन्दर मौका गुमायो।

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले साउदी अरबमा नै खेल्नेछ।

यमनविरुद्धको दोस्रो लेग जेठ २९ गते हुनेछ। सो खेलपछि नेपालले विश्वकप छनोट यात्रा सकाउनेछ।

नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो।

विश्वकप छनोटको समूह एच मा रहेको नेपालले समुह चरणका पाँच खेलमा हार भोगेको छ। नेपालले युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version