रुकुम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।

प्रहरी निरीक्षक शाहीका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिए ।

विक र खनालको अवस्था गम्भीर छ । उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । अर्का घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version