काठमाडौँ: मन्त्रिपरिषद बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरूवा गर्ने निर्णय गरेको श्रम मन्त्री डिपी अर्यालले जानकारी दिए। योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरूवा गर्ने निर्णय भएको हो।
मन्त्री अर्यालका अनुसार निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।
सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार अर्याललाई मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर सरूवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।
अर्याल भने आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए। उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ।
अर्यालले सञ्चार सचिव हुँदा कानुन विपरीत सरकारलाई हानि-नोक्सानी पुग्ने गरी अन्तशुल्क स्टिकर छपाइसम्बन्धी निर्णय गरेको अख्तियारको आरोप छ।

