काठमाडौँ:
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो। नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गएराति खोजी रोकिएको थियो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए। उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ।’

काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version