काठमाडौं । सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल फेला परेको जानकारी स्थानीयले प्रहरीलाई गराएका छन् ।

गत शुक्रबार हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए । तर उनी थामे भन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका घिमिरेले भने, ‘हराएको भनिएको व्यक्ति भेटिनु भएको छ भनेर गाउँलेले हाम्रो स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।’

‘थामेभन्दा माथि पनि उहाँको आफ्नो घर रहेछ, उहाँ त्यही घरमा सकुशल हुनुहुन्छ रे,’ डिएसपी घिमिरेले भने, ‘उहाँको घर रहेको स्थानमा प्रहरी भने पुग्न सकेको छैन, टेलिफोन सम्पर्क पनि कहिलेकाहिँमात्र हुन्छ ।’

स्थानीयका अनुसार ती व्यक्ति राम्रोसँग सुन्न र बोल्न सक्दैनन् । बाढी आउनुअघिसम्म थामेमा देखिएका उनी पछि नदेखेपछि स्थानीयले बेपत्ता भएको जानकारी प्रहरीलाई गराएका थिए ।

पर्यटकीय वस्ती थामेमा बाढी र पहिरोका होटेलसमेत गरी १७ घर, एउटा विद्यालयको छात्राबास र एउटा क्लिनिकमा क्षति पुगेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version