नेपालगन्ज: लुम्बिनी प्रदेशमा बिद्युत चुहावट नियन्त्रणमा सबैभन्दा अगाडी विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र देखिएको छ ।
प्रदेशमा रहेका नेपाल बिद्युत प्राधिकरण अन्तर्गतका २० वटा बितरण केन्द्रहरु मध्ये गत आर्थिक बर्ष २०८०÷०८१ मा कोहलपुर बितरण केन्द्रको बिद्युत चुहावट सबैभन्दा कम देखिएको नेपाल बिद्युत प्राधिकरणको नेपालगन्जस्थित डिभिजन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार सबैभन्दा कम विद्युत् चुहावट नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत भएको पाइएको हो । कोहलपुर वितरण केन्द्रमा गत आर्थिक बर्षमा विद्युत् चुहावट ३.२७ प्रतिशत मात्र रहेको पाईएको छ भने सबैभन्दा बढी चुहावट कपिलबस्तुको तौलिहवा बितरण केन्द्रमा १९.५५ प्रतिशत भएको देखिएको छ ।
गत केही वर्षयता नेपाल बिद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रण र बिद्युत बक्यौता असुलिलाई बिशेष प्राथमिकता दिएको नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले जनाएको छ । बिद्युत महसुल जम्मा नगर्ने ग्राहकहरुको लाइन काट्ने अभियान थालिएपछि धेरैले महसुल जम्मा गरेको सो कार्यालयका प्रमुख माधव महतले बताउनुभयो ।
औद्योगिक ग्राहकहरु बढी भएको ठाउँमा बिद्युत खपत धेरै हुने हुँदा चुहावट कम हुने गरेको जनाउँदै कोहलपुर बितरण केन्द्रका प्रमुख महतले कोहलपुर क्षेत्रमा ठुला ठुला उद्योगहरु रहेकोले चुहावट कम भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको बिद्युत प्राधिकरणले जनाएको छ ।
बिद्युत प्राधिकरणको तथ्यांक अनुसार तौलिहवा बितरण केन्द्रमा सबैभन्दा बढी बिद्युत चुहावट १९.५५ प्रतिशत, त्यसपछि क्रमशः राजापुर वितरण केन्द्रमा १४.७२ प्रतिशत, गुलरियामा १३.८५ प्रतिशत, प्यूठानमा १३.८९ प्रतिशत, बर्दघाटमा १३.७४ प्रतिशत, गुल्मीमा १३.४२ प्रतिशत, नेपालगन्जमा १३.०९ प्रतिशत, तुलसीपुरमा १२.८६ प्रतिशत र रोल्पामा ११.९५ प्रतिशत चुहावट भएको छ ।
सोही प्रकारले बुटवलमा १०.४५ प्रतिशत, पाल्पामा १०.०९ प्रतिशत, कृष्णनगरमा ६.४२ प्रतिशत, भैरहवामा ६.०६ प्रतिशत, अर्घाखाँचीमा ५.४७ प्रतिशत, घोराहीमा ४.८५ प्रतिशत, लमहीमा ४.३९ प्रतिशत, अमुवामा ४.०८ प्रतिशत, परासीमा ३.५८ प्रतिशत र सबैभन्दा कम कोहलपुर वितरण केन्द्रमा ३.२७ प्रतिशत चुहावट भएको बिद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version