काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

किन पक्राउ परे छविलाल जोशी ?

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

छानबिन प्रतिवेदन अनुसार, जीवी राई र छविलाल जोशीको आधा-आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसभन्दा अघि नै उनीहरुले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानका खुलाए अनुसार, आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए ।

प्रतिवेदन अनुसार, छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैंया ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । बीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैंया ऋण लिएका थिए ।

पछि भने मनमुटाव भएपछि जोशी गोर्खा मिडियाबाट अलग भएका थिए ।

सहकारी छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानून अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ, ‘निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version