काठमाडौं: इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।
बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको छ । यी दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।
नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताउनुभयो । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताउनुभयो ।
Trending
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग

