काठमाडौँ: मेलम्चीको पानी आजबाट काठमाडौं पथान्तरण हुने भएको छ।

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको पनि उनले जानकारी दिए।

उनकाअनुसार काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ। त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ।

काठमाडौं अस्थायी तवरले पानी पथान्तरण गर्न लागिएको हो।

२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको छ।

अघिल्लोपटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशकले जानकारी दिए।

असाजे १० देखि १२ गतेसम्मको अविरल वर्षात् र त्यसपछिको बाढीले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली बिगारेको छ। काठमाडौं उपत्यकामा मेलम्ची नदीको पानी नल्याइँदा औसत १३ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ। मेलम्ची नदीको दैनिक १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिँदा औसत ३० करोड लिटर पानी आपूर्ति हुन्छ।

तै पनि काठमाडौं उपत्यकाको खानेपानीको माग भने पूरा हुन सकेको छैन। जनघनत्व बढेसँगै अहिले काठमाडौं उपत्यकामा सरदर दैनिक ५० करोड लिटर खानेपानीको माग रहेको छ।

पछिल्लो बाढीले उपत्यकाको खानेपानी फर्पिङ लगायतका ठाउँबाट आपूर्ति हुने प्रणाली, भूमिगत स्रोतको प्रणाली बिगारेकाले बनाउन केही समय लाग्ने र त्यसपछि मात्रै आपूर्ति सहज हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version