काठमाडौँ:गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । विमानस्थल उदघाटन भएको साढे दुई वर्षपछि स्वदेशी र विदेशी गरी चारवटा कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेका हुन् ।


एकैपटक धेरैवटा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यहाँका पर्यटन व्यवसायीमा खुसीयाली छाएको छ ।


शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गरेको विमानस्थलका प्रवक्ता विनोद रावतले बताउनुभयो । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ ।


दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।


कात्तिक १८ गते भाइटीकाको दिन उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार सातजना यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।


प्रवक्ता रावतका अनुसार नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्नेछ । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ ।


फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थालेको छ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले जानकारी दिनुभयो । प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।


नेपाल एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरुवात गर्ने तय भए पनि रद्द गरिएको थियो । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट राति १०ः२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको रावतले बताउनुभयो । नेपाल एयरलाइन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वलालम्पुर–काठमाडौं–भैरहवा उडान कायम छ ।


नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा यात्रु र सर्वसाधारणको भीड लाग्न थालेको छ । लामो समयदेखि सुनसान विमानस्थल परिसरमा चहलपहल बढेको छ ।


तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुई वर्षअघि विमानस्थल उद्घाटन गर्नुभएको थियो । लगत्तै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा आएका थिए । सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सेना खटाइएको थियो । विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा छ । आवश्यक जनशक्ति व्यवस्थापन गरिएको थियो । अहिले यहाँ नेपाल वायु सेवा निगमले ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ ।


अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रूपन्देहीमा होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सीलगायत पर्यटन पूर्वाधारमा लगानी वृद्धि भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाटा० का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले विभिन्न विमान कम्पनीले नियमित उडान सुरु गरेपछि लुम्बिनीका पर्यटन व्यवसायीमा आशाको सञ्चार भएकोे बताउनुभयो । चार वायुसेवा कम्पनीले नियमित उडान गर्नु खुसीको कुरा भएको र यसलाई निरन्तरता दिने वातावरण बनाएर थप विमान कम्पनीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version