काठमाडौँ:
ललितपुरका विभिन्न क्षेत्रमा महामारीजन्य रोग अफ्रिकन स्वाइन फिवर देखापरेको छ।
पछिल्ला केही दिनमै ७० वटा बंगुर/सुँगुर मरेको र धेरै बिरामी रहेको पाइएको छ। महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा मरेका बंगुरको नमुना परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाएको थियो।
ललितपुर महानगरपालिकाले वडा नं २२ चुनिखेल, नख्खु करिडोरमा बंगुर/सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जनाएको छ। कात्तिक २५ गते केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर परीक्षण रिपोर्टबाट यो रोग पुष्टि भएको हुँदा महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बंगुर/सुँगुर पालक कृषक/व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरपालिकाले भनेको छ।
महानगरपालिकाले सतर्कताका लागि ८ बुँदे सूचना जारी गरेको छ।
महानगरपालिकाको पशु सेवा शाखाले फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न र बंगुर पालिएको खोर र फार्म परिसरमा नियमिति सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका निःसंक्रमणका औषधिहरू प्रयोग गर्न सूचनामा भनेको छ।
यस्तै, रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्याएर अलग्गै राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न, घरपालुवा सुँगुर र बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिन पनि महानगरपालिकाले सचेत गराएको छ।
रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाति तथा पाठापाठी, संकमित मासु र दानाको ओसारपसार नगर्न पनि महानगरले भनेको छ।
अनिवार्यरूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर, बंगुर वा मासुको ओसार प्रसार गर्न, सुँगुर-बंगुर तथा बँदेललाई होटेल रेस्टुराँबाट फालिएका खानेकुरा नखुवाउन र तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरेमा राम्ररी पकाएर मात्र खुवाउन महानगरले सुझाएको छ।

