काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को पहलमा शनिबार नि:शुल्क मोतिबिन्दु पहिचान तथा आँखा शिविरमा ४७६ जना वडावासी प्रत्यक्ष लाभावान्वित भएका छन् ।

२०७९ पछि दोश्रो पटक आयोजना गरिएको यस प्रकारको आँखा शिविरमा यसपटक कुल सेवाग्राहीमध्ये १२६ वृद्धवृद्धाहरुमा मोतिबिन्दु पहिचान भएको छ भने अन्य सेवाग्राहीलाई आवश्यकता र आँखाको समस्या हेरेर ६८ जनालाई नि:शुल्क चस्मा र बाँकीलाई आँखाको औषधि वितरण गरिएको शिविरपछि वडाध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।

गत साल २०८० कार्तिक २० गते पनि वडाले १४ को निशुल्क मोतिबिन्दुको शल्यक्रिया बरिष्ठ डाक्टर सन्दुक रुइतको नेतृत्वमा कपनमामा गरेको थियो ।

वडाध्यक्ष लामाका अनुसार आज सम्पन्न आँखा शिविर माट्रिका आँखा केन्द्र, पुरानो बानेश्वरको प्राविधिक सहयोगमा दुईजना वरिष्ठ डाक्टर तथा ल्याब प्राविधिकहरुको सहायतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
शिविरमा मोतिबिन्दु पहिचान भएका सेवाग्राहीको भने केहि दिनमा माट्रिका आँखा केन्द्रमै लगेर उनीहरुको निशुल्क शल्यक्रिया गरिनेसमेत उहाँले बताउनुभयो।

आँखा जाँचका साथसाथै शिविरमा विभिन्न खाले रक्त परीक्षणसमेत गरिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो। आँखामा कहिलेकाँही मधुमेह तथा उच्च रक्तचापका कारणले पनि ठुलो समस्या सिर्जना हुनसक्ने भएकोले उनीहरुको रक्त परीक्षण पनि गरिएको जानकारी दिनुभयो।

यस किसिमको शिविरले वास्तमै वडावासीलाई निकै लाभ पुगेको बताउनुहुँदै, यसले वडामा आँखाका समस्या भएका वडावासी नागरिकहरुको पहिचान तथा उनीहरुको समस्या थाहा पाउन निकै सहयोग पुगेको वडाध्यक्ष लामाले बताउनुभयो।

यस्तै, वडाका वडा सदस्य योगेन्द्र चित्रकार (मनोज) ले वडावासीलाई परेको विभिन्न खाले स्वास्थ्य समस्यामा वडा सधै सहयोग गर्न तत्पर रहेको र न्यून आय भएकालाई सामान्य स्वास्थ्य परीक्षण पश्चात उनीहरुको निशुल्क उपचारदेखि औषधि वितरणसमेत वडामार्फत गरिंदै आइरहेको बताउनुभयो।

यसैगरी वडाले हरेक ४/४ माहिनामा गर्दै आइरहेको नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत रही भर्खरै २७ दिन लगाएर स्वास्थ्यकर्मीसहितको टोलीले नागरिका घरघर पुगेर उनीहरुको मधुमेह र रक्तचापका विरामीलाई निशुल्क जांच गरी औषधि वितरण कार्यक्रम सम्पन्न गरेको पनि चित्रकारले बताउनुभयो।

वडाध्यक्ष लामाले भन्नुभयो, यो आँखा शिविरपछि यही मङ्सिर २९ गते वडावासीका लागि नि:शुल्क मुटुको स्वास्थ्य परीक्षण शिविरसमेत राखिएको।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version