काठमाडौँ: नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो।

नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ। यो प्रथा नेपाल र भारतबीच सन् १९५० देखि जारी छ।

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान गरेका थिए। उनी शुक्रबार (मंसिर २९) मा स्वदेश फर्किने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ६ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। मंसिर ५ गते नेपाल आएका द्विवेदी ९ गते स्वदेश फर्केका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version