इलाम: नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् ।
“मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने ।

अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे ।

नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपे, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानूनअनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।”

नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो”, नेम्बाङले भने ।

संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्नहुन्छ, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उहाँले थप्नुभयो, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ?”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version