काठमाडौँ:
शुक्रबार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकाले शनिबारसम्म देशका धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

महाशाखाले बिहीबार हिउँदे मौसमको विशेष बुलेटिन-२ जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि देशका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात सुरु हुने जानकारी दिएको हो।

बुलेटिनमा भनिएको छ: सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते (शुक्रबार) अपराह्नदेखि मिति २०८१ पुस १३ गते (शनिबार) सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उक्त मौसम प्रणालीको असरले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना छ।

सचेत गराउँदै बुलेटिनमा अगाडि भनिएको छ: तसर्थ वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version