काठमाडौँ: भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नेमा पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे छन्।

उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू हुन्। उक्त कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो।

सिआइबीले उनीहरूलाई शनिबार (माघ ५ गते) भरतपुर महानगरपालिका-३ बाट पक्राउ गरेको थियो।

उनीहरूमाथि सिआइबीले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी) कसुर अन्तर्गत अनुसन्धान गरिरहेको एसपी सुधिरराज शाहीले जानकारी दिए।

पराजुली र पाण्डेले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर विद्युतीय कसुर गरेको आरोप छ। तर अहिलेसम्म उनीहरूले ठगी गरेको खुलेको भने छैन।

यद्यपि भाटभटेनीले तिर्नुपर्ने करको रकम नै बढाएर घाटा पुर्‍याउन खोजिएको आरोप लागेको हो। किन त्यसो गरे भन्नेबारे भने सिआइबीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

‘प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरिदिएको देखिन्छ,’ एसपी शाहीले भने, ‘मोटिभ के हो भन्नेबारे अझै प्रष्ट भइसकेको छैन।’

अडिट फर्ममा काम गर्ने उनीहरूले केही समयअघि भाटभटेनीको प्रणालीमा युजर नेम र पासवर्ड ‘टुक्का’ लगाएर मिलाएको बयानमा भनेका छन्।

‘ठूलो करदाता कार्यालयले अहिले पोर्टलमा गएर आफ्नो कर दायित्व कति हो, त्यो घोषणा गरेर तिर्ने व्यवस्था छ,’ एसपी शाहीले भने।

भाटभटेनी सुपरमार्केटको दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ कारोबारको राजश्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ तिर्नुपर्ने थियो। तर त्यो रकमलाई उनीहरूले प्रणालीमा पहुँच पुर्‍याएर हेरफेर गरिदिए। उक्त राजश्वको दायित्वलाई बढाएर उनीहरूले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढाइदिएको एसपी शाहीले बताए।

पुस २५ गतेसम्ममा यो कर दायित्वको घोषणा गर्नुपर्ने थियो। भाटभटेनीका कर्मचारीले आफ्नो प्रणालीमा लगइन गर्न खोजेका थिए। तर त्यतिबेला कर्मचारीले खोल्न सकेनन्।

त्यसपछि कर्मचारीहरू आन्तरिक राजश्व विभाग अन्तर्गतको कार्यालयमा पुगे। त्यहाँ पुगेपछि भने उनीहरूले यस घटनाबारे थाहा पाए।

‘उनीहरूले त्यहाँ पुगेपछि कर दायित्व हाल्न खोज्दा नमिलेको भनेपछि पहिल्यै हालिसकेको थाहा पाएका थिए। इन्ट्री भएको हेर्दा ६ करोडको सट्टामा १३ करोड राखिएको थाहा पाए,’ एसपी शाहीले भने।

यसरी आफूहरूले इन्ट्री नगरेको र कारोबार भएको भन्दा बढी देखाइएको भन्दै तत्कालै निवेदन दिएर कर दायित्व परिवर्तन गरिएको थियो। तर भाटभटेनी भने उक्त कर रकम तिर्नबाट जोगियो।अरूको प्रणालीमा पहुँच पुर्‍याएर परिवर्तन गरेको देखिएको प्रहरीको भनाइ छ। तर यसको वास्तविक कारणबारे भने प्रहरीले अनुसन्धान जारी नै राखेको छ।

यसमा एक जना फरार रहेको र उनी पक्राउ परेपछि मात्रै यसबारे थप खुल्ने प्रहरीले जनाएको छ।

‘उनीहरूले आफूलाई फाइदा हुनेभन्दा पनि भाटभटेनीलाई घाटा पुर्‍याउने उद्देश्य देखिन्छ। अहिले पक्राउ परेकाहरू इन्ट्री गर्नेहरूमात्रै हुन्। थप मान्छे आएपछि कारण र अन्य कुरा खुल्‍छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version