काठमाडौं । नेपाल प्रहरीले चैत १५ मा भएको राजावादी प्रदर्शनमा भएको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन प्रहरीले संयमतापूर्वक काम गरेको दाबी गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले उक्त कुरा बताएका हुन् । प्रहरीले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप निराधार भन्दै उनले अराजकतापूर्ण र आपराधिक गतिविधि नियन्त्रणमा लिने कोसिस गरेको बताए ।

त्यस दिन अराजकतापूर्ण गतिविधि बढेपछि त्यसलाई नियन्त्रणमा लिन पहिलो पटक २ बजेर ५४ मिनेटमा पहिलो गोली प्रहार भएको उनले बताए ।

आचार्यले बताएअनुसार त्यसअघि ३ बजेर ५ मिनेट जाँदा प्रहरीको लागुऔषध नियन्त्रण व्युरोको कार्यालय नजिकै आगजनीको प्रयास भएको थियो । त्यही गाडी जलाइयो । लगत्तै त्यहाँ रहेका मानिसलाई जलाउने प्रयास भयो । सादा पोशामा बसेका प्रहरीलाई आगो लगाउने प्रयास भएको आचार्यले बताए ।

कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोडको प्रयास शुरु भएको थियो । विभिन्न स्थानमा खटिएका प्रहरीलाई खाजा पु¥याउने गाडी लुटपाट गर्ने र प्रहरीलाई लक्षित गरी आक्रमण गर्न थालिएपछि ३ बजेर ९ मिनेटमा स्थितिलाई नियन्त्रणमा लिन गोली प्रहार भएको उनले बताए ।

उनका अनुसार त्यसै क्रममा कीर्तिपुरका सविन महर्जन घाइते भएका थिए । उनले भने, ‘तीनकुने, लागुऔषध, कोटेश्वर र जडिबुटीका प्रहरीलाई उद्धार नगरी विभिन्न ठाउँमा आक्रमण प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।’

प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईं करिब १ बजेर १५ मिनेट जाँदा भक्तपुरबाट कोटेश्वर हुँदै तीनकुनेबाट अगाडि बढ्न खोज्दा स्थिति अराजक भएको आचार्यले बताए । केही व्यक्तिले मञ्चमा गएर संसद भवन र विमानस्थल कब्जा गर्ने अभिव्यक्ति दिएपछि भिडको अराजकता बढ्यो र उक्त स्थितिलाई नियन्त्रणमा लिन १ बजेर २३ मिनेट जाँदा पहिलो पटक बल प्रयोग गरिएको उनले बताए ।

तीनकुनेको घरमा पहिलो पटक आगो लाग्दा प्रहरी जानसक्ने अवस्था नभएको उनको भनाइ थियो । ‘टियर ग्याँस र वाटर क्यानल प्रयोग गरेर सवा २ बजे जान सम्भव भयो’, उनले भने ।

पौने ४ देखि ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा आक्रमण हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिएको उनले बताए ।

प्रहरीले बताएअनुसार ४ बजेर १२ मिनेट जाँदा केएमसी अस्पताल अगाडि आगजनी भयो । यसरी संवेदनशील स्थलको बचाउ गर्न जिल्ला प्रशासन कार्यालयले ४ बजेर २५ मिनेटमा पहिलो पटक कर्फ्यु आदेश जारी गरेको उनले बताए ।

त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएको डीआईजी आचार्यले बताए । उनका अनुसार कर्फ्यु आदेश जारी भएपछि पनि बालकुमारीमा एक सांसदको गाडी जलाइयो । एकीकृत समाजवादीको कार्यालयमा आगजनी भयो ।

५ बजेर ३३ मिनेट जाँदा प्रहरीको नरेफाँट, कोटेश्वरस्थित बिटमा आक्रमण भएको थियो । ६ बजेर ९ देखि १२ मिनेट जाँदासम्म प्रहरीको सिनामंगल बिटमा रहेको मोटरसाइकलमा आगलागी भएको प्रवक्ता आचार्यले बताए ।

उनले भने, ‘प्रहरीले आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन विभिन्न कोसिस गर्‍यो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version