काठमाडौँ:नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले लिएको उचित नीतिका कारण कोरोना महामारीमा अर्थतन्त्र ठूलो समस्यामा नफसेको बताएका छन् ।
आफ्नो कार्यकालको समीक्षा गर्दै शुक्रबार अधिकारीले सही समयमा उचित निर्णय लिएका कारण अन्य मुलुकको तुलनामा कम प्रभावित भएको बताएका हुन् ।
‘कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि यस बैंकले मौद्रिक नीतिको लचिलो कार्यदिशा अवलम्बन गर्नुका साथै विभिन्न नियामकीय छुट/सुविधाहरू प्रदान गरेको थियो । साथै, बैंकले कर्जा सहजीकरणका लागि पुनरकर्जालगायतका सुविधा समेत प्रदान गरेको थियो,’ अधिकारीले भने, ‘यसबाट कोभिड प्रभावित अर्थतन्त्रको थप सङ्कुचन हुन नदिने र अर्थतन्त्रको पुनरुत्थान गर्ने कार्यमा मद्दत पुगेको थियो ।’
उनले विद्युतीय भुक्तानीको पूर्वाधार विकास, भुक्तानी उपकरणहरुमा सर्वसाधारणको पहुँच तथा विद्युतीय भुक्तानीका उपकरणको उपयोगमा उल्लेख्य वृद्धि हुँदै गएको पनि बताए ।
यसबाट वित्तीय समावेशिता अभिवृद्धि गर्नमा समेत मद्दत पुगेको उनको तर्क छ । ‘आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय भुक्तानी कारोबार संख्या तेब्बर तथा भुक्तानी रकम करिब दोब्बर भएको छ,’ अधिकारीले भने, ‘अन्तरदेशीय भुक्तानीमा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने अवस्था रहेको छ ।’
गभर्नर अधिकारीले विगत पाँच वर्षको अवधिमा मुलुकले कोभिड महामारीका साथै रुस–युक्रेन तनावबाट सिर्जित आपूर्ति अवरोधको सामना गरेको बताए । यसबाट आर्थिक अनिश्चितता वृद्धि हुनुका साथै आर्थिक स्थायित्व कायम गर्ने कार्यमा चुनौती सिर्जना हुन गएको थियो । यसका बाबजुद मौद्रिक नीतिको सजगतापूर्ण कार्यदिशा र नियामकीय नीतिहरूमा गरिएको सामयिक एवम् उपयुक्त परिवर्तनका कारण मुलुकमा आर्थिक स्थायित्व कायम भएको अधिकारीको दाबी छ ।
‘केन्द्रीय बैंकको संस्थागत सुशासन सुदृढ गर्न, जोखिम व्यवस्थापन गर्न तथा बैंकको कार्यसञ्चालनलाई प्रभावकारी बनाउन थप व्यवस्था तर्जुमा गरिएका छन्,’ अधिकारीले भने, ‘व्यवसाय निरन्तरता नीति तथा व्यवसाय निरन्तरता योजना तर्जुमा गरी लागु गरिएको छ ।’ उनले चौथौ रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, कर्मचारीको दक्षतावृद्धि तथा प्रतिभा व्यवस्थापनका लागि दोस्रो मानव संसाधन योजना, उत्तराधिकारी योजना, क्षमता विकास योजना लयायतका व्यवस्थाहरू तर्जुमा गरिएको पनि बताए ।

