काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले चैत्र ९ गतेसम्म शिक्षक आन्दोलन फिर्ता नभए कक्षा १२ को वार्षिक परीक्षा स्थगित गर्नुपर्ने जनाएको छ। वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित गर्ने जनाएको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान १० बजेसम्म आन्दोलनरत शिक्षकसँग सहमति नभए परीक्षा स्थगित गर्ने बताएका छन्।

‘उत्तरपुस्तिका र प्रश्न पत्र परीक्षा केन्द्रहरूमा पुगिसकेको छ। केन्द्राध्यक्षहरूको अभिमुखीकरण बाँकी छ। पर्सिदेखि शिक्षकहरू कार्यस्थलमा फर्किनुभयो भने परीक्षा सञ्चालन गराउन सकिन्छ। अनलाइनबाट केन्द्राध्यक्षहरूको अभिमुखीकरण गराउन सकिन्छ,’ अध्यक्ष शर्माले भने, ‘तर भोलि चैत्र ८ गतेसम्म पनि आन्दोलन टुंगिएन भने परीक्षा सञ्चालन गराउन सकिँदैन। स्थगित गर्नु पर्ने हुन्छ। हामी भोलि १० बजे सम्म हेछौँ। अनि निर्णय गछौँ।’

परीक्षा ढिलो भए नतिजा पनि ढिलो आउने र विश्वविद्यालयको पठनपाठनमा पनि असर पार्ने उनको भनाइ छ।

बोर्डले परीक्षाको विषयमा छलफल गर्न सोमबार बिहान ११ बजे प्रधानाध्यकहरूलाई बैठकमा बोलाएको छ। काठमाडौँको डिल्लीबजारस्थित पद्यमकन्या विद्याश्रम माध्यामिक विद्यालयकी प्रधानाध्यपक रिता तिवारीले परीक्षा सञ्चालनको विषयमा छलफल गर्न बोलाइएको जानकारी दिइन्।

‘बोर्डले परीक्षा सञ्चालन गर्न प्रधानाध्यपकहरूलाई नै केन्द्राध्यक्ष तोकेको छ। तर कक्षा १२ को परीक्षा समयमा सञ्चालन हुन समस्या रहेको छ। परीक्षा सञ्चालन गर्न धेरै तयारी आवश्यक पर्छ। फेरि यो महत्त्वपूर्ण परीक्षा हो। एक साता त पछि सर्छ होला,’ उनले भनिन्।

यस वर्ष कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सामेल हुँदै छन्। कक्षा १२ का परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्मा परीक्षा सञ्चालन गर्ने तयारी पूरा भइसकेका कारण शिक्षक कार्यस्थलमा फर्किए भने समयमा नै परीक्षा सञ्चालन गराउन सकिने बताउँछन्।

शिक्षक महासंघकी सहअध्यक्ष पराजुली शिक्षकका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेका कारण कक्षा १२ को परीक्षामा सामेल नहुने निर्णय गरेको बताइन्। अब पर्ने शैक्षिक क्षतिकोे सम्पूर्ण जिम्मा सरकारले नै लिनुपर्ने उनको भनाइ छ।

शिक्षक आन्दोलनले नयाँ शैक्षिकसत्र सञ्चालन रोकिएको छ। ७० लाख विद्यार्थीको शैक्षिक गतिविधि ठप्प बनेको छ। वैशाख २ गतेदेखि सञ्चालन हुने भर्ना अभियान सुरु हुन सकेन। हरेक वर्ष विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन हुदै आएको छ। हाल ४ प्रतिशत विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version