काठमाडौँ: आन्दोलनरत नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग संवाद जारी रहे पनि निष्कर्ष उन्मुख नरहेको बताएका छन्।

शिक्षा मन्त्रालयसँग वार्ता र सडक आन्दोलन सँगसँगै अघि बढाएको महासंघका अध्यक्ष सुवेदीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन्।’

शनिबार बिहान शिक्षक महासंघ र सरकारी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता भएको थियो। वार्ताबाट निस्केपछि महासंघका अध्यक्ष सुवेदीले वार्तामा आफूहरूको अडान राखेको र छलफललाई निरन्तरता दिने कुरा भएको बताएका थिए।

उनले आज पनि आन्दोलन जारी रहने बताउँदै शिक्षकहरूलाई आह्वान गरेका छन्, ‘सदाझैँ आज पनि ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नु हुन अनुरोध छ।’

उनले आन्दोलन लम्बिँदै जाँदा बाधा र अड्चन बढेको पनि बताएका छन्।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २६ दिनदेखि आन्दोलनरत छन्।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।

सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version