काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस-एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।
पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । पौडेलले राजीनामा दिएपछि गभर्नर बन्ने बाटो समेत खुला भएको छ ।
यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेका हुन् ।
समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरू मध्येबाट कसैलाई सदस्य नियुक्त गर्ने तयारी गरेको छ ।

