काठमाडौँ:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई प्रहरीले पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।

आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको छ। उक्त इजलासले के आदेश दिएको छ भन्ने खुलिसकेको छैन।

केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै केसीको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

उक्त रिटमा सुनुवाइ भइसकेको छ। यद्यपि आदेश भने आइसकेको छैन।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले सामाजिक सञ्जालमा अफवाह फैलाएकाले केसीलाई पक्राउ गरिएको बताए।

उनले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोपमा पक्राउ गरिएको बताए। जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भइसकेको पनि उनले बताए।

तर उनले सामाजिक सञ्जालमा के विषयमा लेखेका थिए भन्ने प्रहरीले खुलाएको छैन।

राप्रपाले भने केसीको पक्राउको विरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version