काठमाडौँ — तीन महिनाअघि मात्र नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका शरद ओझाको योग्यता र अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । दोहोरो परीक्षण नगरी उनले पेस गरेका कागजातकै आधारमा नियुक्ति गरिएको भन्दै अख्तियारले अर्थ मन्त्रालयबाट कागजात झिकाएको छ ।
ओझा १२ फागुन २०८१ को मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् । ‘उनलाई नियुक्ति गर्दाका कागजात अनुसन्धानका लागि पेस गर्न अख्तियारबाट विभिन्न मितिमा पत्र आएको छ,’ अर्थका एक अधिकारी भन्छन्, ‘नियुक्ति पत्र, ओझाले पेस गरेका कागजात, विभिन्न संस्थाहरूबाट प्राप्त सिफारिस पत्रसहितका विवरण अख्तियारलाई बुझाएका छौं ।’
ओझाको नियुक्ति गैरकानुनी भन्दै बदरको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति र ओझालाई विपक्षी बनाई गत १७ चैतमा इन्दिरा धमलाका तर्फबाट सर्वोच्च अदालतमा समेत रिट दायर भएको थियो । त्यसको तीन दिनपछि २० चैतमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसहित दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । पछिल्लो पटक ५ जेठ २०८२ मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ओझालाई अध्यक्षमा नियुक्ति गर्नुका आधारसम्बन्धी कागजात पेस गर्न आदेश दिएको छ ।
अख्तियारमा पनि ओझाको नियुक्तिविरुद्ध उजुरी परेको थियो । त्यसपछि प्रारम्भिक छानबिनमा ओझाले पेस गरेका कागजातमा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको हो ।
विभिन्न कार्यालय/कम्पनीमा काम गरेको भनी पेस गरिएका कागजातको वैधताबारे अख्तियारले सम्बन्धित कार्यालय/कम्पनीलाई पनि ‘यसबारे खुलाइदिन’ पत्र पठाइसकेको छ । ‘पत्र पठाइएकामा सम्बन्धित कार्यालय/कम्पनीबाट पनि विवरण आउने क्रम जारी छ, यसमाथि विस्तृत रूपमा अनुसन्धान भइरहेको छ,’ अख्तियारका अधिकारी बताउँछन् ।
‘उनका नाममा योग्यता तथा अनुभवसम्बन्धी कागजात बनाइदिने निकायका प्रतिनिधिसमेतलाई बोलाएर सोधपुछ गरिसकिएको छ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘ती संस्थाका प्रतिनिधिहरूले ओझाले विदेशमा पीएचडी अध्ययनका लागि सिफारिस चाहिएको भन्दै आग्रह गरेपछि बनाइदिएको जानकारी दिएका छन् । तर धेरैजसो संस्थामा काम भने नगरेको देखिन्छ ।’
उनले सामरिक तथा सुरक्षा सामग्री खरिद गर्ने विदेशी कम्पनीको स्थानीय एजेन्टका रूपमा समेत काम गर्ने ट्रिनिटी एक्जिम प्रालिमा १८ अक्टोबर २०१९ देखि १६ नोभेम्बर २०२१ सम्म सिनियर म्यानेजर, नेपाल सरकार मातहतको लगानी बोर्डमा १५ जनवरी २०२४ देखि २३ मे २०२४ सम्म ‘पार्टटाइम’ कन्सल्टेन्ट, नेपाल उद्योग परिसंघ (सीएनआई) मा ११ मे २०२४ देखि पोलिसी एक्सपर्टका रूपमा, नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको पनि अनुभव पेस गरेका छन् ।

