न्यूयोर्क: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिएका छन्।
उक्त अवसरमा उनले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताए । उनले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिए।
आजै परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकसँगको दुई पक्षीय बैठकमा भाग लिए। उनले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गरे।
भेटवार्तामा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले आजै आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीसँग भेटवार्ता गर्नुभयो ।
भेटवार्तामा दुई मुलुकबीच व्यापार र लगानीका विषयका थप क्षेत्रहरू खोजी गर्ने र दुवै मुलुकका राम्रा अभ्यास साझेदारी गर्ने समझदारी बनेको जानकारी दिइएको छ ।
त्यसैगरी परराष्टमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र सङ्घको उपमहासचिव अमिना मोहम्मदसँग भेटवार्ता गर्नुभयो । उहाँहरूबीच संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली र महासचिवको सुधार प्रक्रियामा नेपालले दिनसक्ने योगदानको विषयमा छलफल भएको बताइएको छ ।
यसैगरी आजै पराष्ट्रमन्त्री ज्ञवालीलाई इन्टरनेशनल नेटवर्क फर बाम्बु एण्ड ¥याटनका महासचिव डा हान्स फ्रेडरिखले नियोगको कार्यालयमा भेट गर्नुभयो । उक्त अवसरमा दिगो विकासका लागि बाँस तथा निगालोको भूमिकाका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
