भिमदत्तनगर: कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला हत्याकाण्डबारे उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरका बासिन्दाले शनिबारबाट अनिश्चितकालिन धर्ना सुरु गरेका छन्।

महेन्द्रनगरको मदनचोकमा आज बिहानदेखि स्थानीयहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म धर्ना जारी रहने सहभागीहरूले बताएका छन्।

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना बस्न बाध्य भएको अधिकारकर्मी माया नेगीले बताइन्। उनले प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको बताइन्।

उनले प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेसम्म धर्ना जारी रहने र थप आन्दोलन गर्ने चेतावनी दिइन्। प्रतिवेदन सार्वजनिक नगरेर फेरि अर्को दिलीप विष्टजस्तै निर्दोषलाई डमी अपराधीका रुपमा उभ्याउन खोजिएको त होइन भन्ने शंका उब्जेकाे नेगीले बताइन्।

मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरे। प्रतिवेदन लुकाउनुको अर्थ दोषीलाई बचाउने खेल हुन सक्ने उनकोआशंका छ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएकाे अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version