काठमाडौँ । अध्यागमन विभागले अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने स्पष्ट गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलन गर्दै वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने जनाएको हो ।

विभागका अनुसार, अध्यागमन अधिकृतले पर्यटकीय प्रकृतिका भिसामा प्रस्थान गर्ने नेपाली नागरिकलाई शङ्काको आधारमा मात्र अनुसन्धान नगरी कानुन बमोजिम तथ्यगत जानकारी वा ठोस आधार रहेमा मात्र छानबिन गर्ने व्यवस्था गरिएको छ ।

विभागले यात्रुहरूलाई कानुनले तोकेको सीमा भित्रको डलर सटही, आवश्यक परेमा स्वघोषणा र वैध कागजात मात्र प्रयोग गर्न आग्रह गरेको छ । ’नक्कली वा फर्जी कागजात प्रयोग गरी यात्रा गर्ने व्यक्तिलाई प्रस्थान अनुमति नदिइने मात्र नभई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ विभागले भनेको छ ।

त्यसैगरी, वैदेशिक यात्रामा दलाल वा बिचौलियाको संलग्नता देखिएमा पनि प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ । अध्यागमन प्रक्रियामा संलग्न कर्मचारी वा निकायले रकम मागेमा तोकिएका सम्पर्क नम्बरमा जानकारी दिन पनि विभागले आग्रह गरेको छ ।

विभागले अनाधिकृत व्यक्ति वा संस्थाको प्रलोभनमा परी अवैधानिक मार्गबाट विदेश जान नहुनेमा जोड दिँदै यस्तो यात्रा गर्दा भ्रमण उद्देश्य वा गन्तव्य मुलुकको विवरण अभिलेखमा नआउने भएकाले भविष्यमा उद्धार वा सहयोग आवश्यक पर्न सक्ने अवस्था आउँदा राज्यलाई कठिनाइ हुने चेतावनी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version