काठमाडौं: गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो ।

अघिल्लो आर्थिक वर्ष महँगी ५.४४ प्रतिशत थियो । ०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०८१ असार महिनामा यस्तो महँगी ३.५७ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घिउ तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत छ ।
आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७ प्रतिशत, तराईको ४.१४ प्रतिशत, पहाडको ३.८६ प्रतिशत र हिमालको ४.८९ प्रतिशत रहेको छ ।

२०८२ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३२ प्रतिशत, तराईको १.८५ प्रतिशत, पहाडको २.१९ प्रतिशत र हिमालको ३.७५ प्रतिशत रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version