काठमाडौँ:
निजामती कर्मचारीलाई अवकाशपछिको केही समय सरकारी नियुक्तिमा जान नपाइने व्यवस्था अर्थात् ‘कुलिङ अफ पिरियड’ राखेर जाने सहमति भएको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको शनिबार भएको बैठकमा २ वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको हो।
समिति सदस्य बेदुराम भुसालले प्रतिनिधि सभाबाट भएको गल्ती सच्याउने र कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी नेपालखबरलाई दिए।
‘२ वर्षको कुलिङ अफ पिरियड’ राख्ने सहमति समितिमा सर्वसम्मत भएको छ,’ उनले भने, ‘यसबारे प्रतिनिधि सभाबाट भएको गल्ती पनि सच्याउने निर्णयमा पुगेका छौँ।’
अब यही सहमति अनुसारै समितिबाट निजामती सेवासम्बन्धी विधेयक बन्ने छ।
यसअघि २ वर्षको कुलिङ पिरियड राख्ने विषयमा प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा हेरफेर भएर पारित भएपछि विवाद निम्तिएको थियो।
समिति सदस्यहरुमाझ २ वर्षको कुलिङ पिरियड राख्ने गरि समितिबाट पारित भएको घोषणा गरिएको भए पनि प्रतिनिधि सभासम्म पुग्दा भएको गडबडीबारे छानबिन गर्न समिति बनेको थियो।
समितिले प्रतिवेदन बुझाएपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गडबडीको नैतिक जिम्मेवारी लिदै सभापति पदबाट राजीनामा दिएका थिए।

