काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताउनुभएको छ।
सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै भन्नुभयो, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”
उहाँले भन्नुभयो, “कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ। राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो। मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ। अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ। केही प्रदेशहरूको बैठक बसेका छौँ। यो पाँचौँ प्रदेशको बैठक हो। अहिले समय अभाव भयो , छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु। अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ।”
“पार्टीले राम्रोसँग महसुस गरेको छ कि, मध्यपूर्व र एसियालाई महत्व नदिए पार्टीलाई राम्रोसँग अगाडि बढाउन सकिन्न। प्रवासमा रहेका साथीहरूलाई पार्टीमा महत्व दिने गरी थप निर्णय गर्छौँ,” उहाँले भन्नुभयो।
पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गर्दै, “प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन,” भन्दै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताउनुभयो। उहाँले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको र सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढंगले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “लामो छलफल र बहस गरेर स्थायी समिति बैठकले पार्टीमा अराजकता देखिए कारबाही गर्ने निर्णय सर्वसम्मतिले लिएको छ। कसैले पार्टीको नीति र पद्धति विपरीत लेख्ने–बोल्ने गरेको भए अनुशासनको स्पष्टिकरण सोध्ने काम गर्न निर्देशन दिन्छु।”
अनुशासनको स्पष्टिकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्ने उहाँले बताउनुभयो। पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैले भूमिका खेल्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीलाई जनतामैत्री, संगठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्नेतर्फ लाग्न सबै कार्यकर्तालाई आह्वान गर्नुभयो। “हामी फेरि अभियानमा जाँदैछौँ। अब हरेक क्रान्तिकारी कमरेडले पार्टी एकताका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो।
पार्टीका विभिन्न अभियानमा देशभर जाँदा पार्टी नेतृत्व र नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा पनि भरोसा रहेको उल्लेख उहाँले गर्नुभयो।
“केही मान्छेहरूले कांग्रेस, एमाले र माओवादी एउटै हो भन्न खोजे पनि आम जनताले जनताको पक्षमा काम गर्ने त माओवादी केन्द्र नै रहेछ भन्ने महसुस गरेका छन्। पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस र एमालेका स्थानीय नेताहरूले मलाई भेट्दा, ‘यो परिवर्तन माओवादीले ल्याएको हो। यसको रक्षा पनि माओवादीले नै, प्रचण्डले नै भूमिका खेल्नुपर्छ,’ भन्छन्। मैले भन्ने गरेको छु—मलाई होइन, जनतालाई भन्नुहोस्, तपाईंहरूकै नेताहरूलाई भन्नुहोस्,” उहाँले भन्नुभयो।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा प्रवासी नेपालीको पक्षमा गरेका कामहरूको स्मरण गर्दै नागरिकता दिने निर्णयको कार्यान्वयनलाई लिएर वर्तमान सरकारको गतिविधिको आलोचना गर्नुभयो। “हामीले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक विभेदको विरुद्ध सामाजिक न्यायका पक्षमा काम गर्यौँ। सामाजिक सुरक्षाका क्षेत्रमा पनि तपाईंहरूकै सल्लाहमा विदेशमा रहेका प्रवासी मजदुरलाई समेट्ने अभियान सुरु गरिएको थियो। तर अहिलेको सरकारले ती कामलाई अगाडि बढाउन सकेको छैन। प्रवासी नेपाली नागरिकलाई नागरिकता दिने ऐतिहासिक निर्णय गरियो, तर अहिलेको सरकारले त्यसलाई कागजको खोस्टाजस्तो व्यवहार गरिरहेको छ।”
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले विगतमा सामाजिक न्याय, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा खेलेको भूमिकालाई जनताले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै थप सुधार र अभियानका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।
बैठकमा केन्द्रीय सदस्य डिबी क्षेत्रीले आफ्नो रिपोर्ट प्रस्तुत गर्दै, रिपोर्टअनुसार एशिया क्षेत्रमै २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको र त्यसअनुसार महत्व दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। नेतृत्त्वले प्रवासी जनशक्तिको भूमिकालाई मूल्याङ्कन गर्दै आगामी रणनीति तय गर्न आवश्यक रहेको भन्दै उहाँले नेतृत्व समक्ष सुझाव पेश गर्नुभयो।
बैठकलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रवास क्षेत्र इन्चार्ज ओम शर्माले भन्नुभयो, “संसारभरिका नेपाली युवालाई गोलबन्द गर्न सक्ने साझा प्लेटफर्मको आवश्यकता छ।” उहाँले काम गर्दै जाँदा जो सुकैबाट भएका कमी कमजोरी सुधार्दै पार्टीलाई एकताबद्व बनाउन आवश्यक रहेको बताउनुभयो । यदि आफुबाट पनि गल्ति कमजोरी भएको भए त्यसलाई सुधार गर्दै संगठन विस्तारमा आत्मआलोचनासहित सक्रिय हुने विश्वास दिलाउनुभयो।
संगठनका अध्यक्ष सनीकुमार ओलीको अध्यक्षतामा बसेको एशिया प्रदेश संगठन समितिको बैठक सचिव भवानी पन्तले सञ्चालन गर्नुभएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version