४९ जनाको उपचार गर्दागर्दै मृत्यु, ३८ जना अझै अस्पतालमा
काठमाडौँ: भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ।
भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए। जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो। जसमा ७६ जनाले ज्यान गुमाएका छन्। शुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेन जी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए। केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको उनले जानकारी दिए।
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन्। जेनजी आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु भएको संख्या ४९ रहेको उनले बताए। उनको अनुसार हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेको छन्।
डा. बुढाथोकीले भने, ‘देशभरका झन्डै ८३ वटा अस्पतालहरूले शुरु शुरुमा जेन जीका घाइतेहरू हामी कहाँ आएर सेवा लिएको भनेर रिपोर्टिङ गर्नुभएको थियो। त्यो क्रमशः घट्दै गएर आजको दिनसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि त्यस आन्दोलनमा घाइते भएकहरुको स्वास्थ्यको उपचार भइरहेको छ। हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरुले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको तथ्यांक छ। अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदा हुँदै मृत्यु भएको संख्या ४९ छ। अस्पतालमा हाल १० वटामा ३८ जना घाइतेहरु उपचाररत हुनुहुन्छ। २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसक्नुभएको छ।’
उनले २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेको र जेन जी आन्दोलनमा ९ सय ४७ जना घाइतेहरू बोक्न एम्बुलेन्सको प्रयोग गरिएको बताए।

