काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउने बताएकी छिन् ।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा कार्कीले यस्तो बताएकी हुन् ।

उनले त्यसरी व्यक्तिगत फाइदा उठाउने र लुटधन्दा मच्चाउनेलाई कानुनी दायरामा ल्याउन सरकारका संस्थाहरुले निरन्तर काम गरिरहेको बताइन् । साथै, व्यवसायीलाई पनि मर्यादीत र असल ढंगमा व्यापार व्यवसाय गर्न उनले आग्रह गरिन् ।

‘यो सरकार ठूलो नीतिगत फड्को मार्न आएको होइन । कानुन बदल्ने अधिकार समेत यो सरकालाई छैन,’ कार्कीले भनिन्, ‘जेनजी आन्दोलनको जगमा बनेको यो सरकारले सम्मानीय राष्ट्रपतिबाट प्राप्त कार्यदेशअनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायीत्वमा काम गरिरहेको छ ।’ उनले सोहीअनुसार वर्तमान सरकारले काम गरिरहेको बताइन् ।

ढलेका निजी क्षेत्रका संरचना पुनर्निमाण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार हुने प्रतिबद्धता सबैले जनाउन आवश्यक भएको कार्कीको भनाइ छ । ‘उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द हडताल, तोडफोड आगजनी लगायतका कुरा नहुने वातावरण बनाऔं,’ कार्कीले भनिन्, ‘यसका लागि मेरो मन्त्रिपरिषद सदस्यसँग छलफल गरी आवश्यक निर्णय लिने जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री कार्कीले देशमा चुनावको वातावरण बनिसकेको र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पारिन्। ‘निर्वाचन नै वर्तमान समस्याको अचुक औषधि हो,’ उनले भनिन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version