काठमाडौँ: हाल (सोमबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो तथा राति पनि हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहने तथा उच्च भूभागमा हिमपात र वर्षाको समेत सम्भवना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसम महाशाखाले सुझाव दिएको छ।
मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात सम्भावना साथै तराई भूभागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’
यस्तो छ आजको मौसमबारे महाशाखाको प्रक्षेपण :
दिउँसोः तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
राति: तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

