काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष विधान महाधिवेशन अन्तर्गतको बन्दसत्र आज सोमबार बिहान सुरु हुँदैछ ।

आइतबार राजधानीमा सम्पन्न उद्घाटन समारोहपछि महाधिवेशन औपचारिक छलफल र निर्णयको चरणमा प्रवेश गरेको हो। बन्दसत्रमा पार्टीको विधान, संगठनात्मक संरचना, आन्तरिक प्रक्रिया तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

पार्टी नेता रामप्रसाद अधिकारीका अनुसार उद्घाटन समारोह अपेक्षाकृत व्यवस्थित र शान्त वातावरणमा सम्पन्न भएको छ । महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको दाबी गर्दै नेतृत्व पक्षले यस विशेष महाधिवेशनबाट हुने निर्णयहरू वैधानिक हुने विश्वास व्यक्त गरेको छ ।

नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन आयोजना गर्नुको पृष्ठभूमिमा पार्टीभित्र लामो समयदेखि उठ्दै आएका संगठनात्मक र प्रक्रियागत प्रश्नहरू रहेको अर्का नेता मनोजमणि आचार्यको दाबी छ । नियमित महाधिवेशनको कार्यतालिका अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने विषयमा पार्टीभित्र फरक-फरक धारणा व्यक्त हुँदै आए पनि विशेष महाधिवेशनमा प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले अब पछाडि नफर्किने म्यान्डेट दिएको आचार्यले विश्वास व्यक्त गरे ।

उनले भने, ‘विधानका केही प्रावधान व्यवहारिक नभएको, निर्णय प्रक्रिया अत्यधिक केन्द्रित भएको र आन्तरिक लोकतन्त्रलाई थप स्पष्ट बनाउनुपर्ने आवश्यकता रहेकाले विधान संशोधनका लागि विशेष महाधिवेशनको प्रस्ताव अघि बढाइएको हो ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version