काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज छलफल गर्ने भएका छन्। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको मुखमा पुगेपछि त्यसलाई बचाउँन भन्दै देउवा आफै संवाद गर्ने भएका हुन्।

यसअघि उनले विशेष महाधिवशेन पक्षसँग छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अगाडि सारेका थिए। तर, सहमति नजुटेपछि र विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेपछि देउवा आफै सक्रिय भएका हुन्।
सोमबार उनले आफू पक्षीय नेताहरू र डा. शेखर कोइराला पक्षका नेताहरूसँग छलफल गरेका छन्। उनले कानून व्यवसायीलाई समेत निवासमा बोलाएर राय लिएका छन्।

देउवालाई भेटेर फर्किएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीद्वयसँग छलफल गर्ने र सकारात्मक निष्कर्ष निस्कने दाबी गरे। छलफलपछि विश्वकर्माले भने, ‘सभापतिले आकस्मिक र विश्वासिलो ढंगबाट महामन्त्रीहरूसँग संवाद गर्ने, संवादको सकारात्मक निर्णय निकाल्ने निष्कर्ष निस्केको छ। सभापतिजीले आजै संवाद गर्नुहुन्छ, चाँडै हुन्छ।’

संवाद गर्ने विषयमा दुवै महामन्त्रीलाई जानकारी पनि दिइसकेको उनले बताए। यसमा दुवै महामन्त्री पनि सकारात्मक रहेको उनको भनाइ थियो। ‘सभापतिजीले संवाद गर्ने सन्देश गइसकेको छ। संवादका लागि महामन्त्रीहरू पनि सकारात्मक हुनुहुन्छ,’ विश्वकर्माले भने।

विशेष महाधिवेशनका लागि अघि बढेको प्रक्रियालाई विधि सम्मत ढंगले टुंग्याउने छलफल हुने उनले बताए। ‘उहाँहरू (गगन–विश्व) पनि पार्टी विभाजन गर्ने मनसायमा हुनुहुन्न। जेजे प्रक्रिया अघि बढेको छ, त्यसलाई विधि सम्मत ढंगले टुंग्याउने प्रक्रियामा छलफल हुन्छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version