काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद र सहकारी क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जारी भएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ रहेको छ । विकास निर्माणका काम र सरकारी खरिद प्रक्रियालाई सहज बनाउन यो अध्यादेश ल्याइएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसमा यो ऐन संशोधन गरिएको हो ।
यसैगरी सहकारीसम्बन्धी अध्यादेश रहेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र नियमनलाई प्रभावकारी बनाउन राष्ट्रपतिले आजै यो अध्यादेश पनि प्रमाणीकरण गरेका हुन् ।
सरकारले सार्वजनिक खरिद र सहकारीबाहेक अन्य महत्वपूर्ण अध्यादेशहरू पनि जारी गर्न शीतलनिवास पठाएको थियो । जसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालय सम्बन्धी अध्यादेश तथा सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश समेटिएका छन् ।
राष्ट्रपति पौडेलले यी बाँकी अध्यादेशहरूबारे अध्ययन गरिरहेका छन् । अध्यादेश जारी गर्नुअघि उनले आजै शीतलनिवासमा कानुनविद्हरूलाई बोलाएर आवश्यक परामर्श र छलफल समेत
गरेका थिए ।
संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका कानुनहरू अध्यादेशमार्फत ल्याउने गरिन्छ ।


