काठमाडौँ: डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा एक अर्व २९ करोड रुपैयाँ पुग्ने भएको छ। भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको मासिक घाटा एक अर्व २९ करोड पुग्ने निगमका प्रबक्ता बिरेन्द्र गोइतले बताए।
उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।”
निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि सेप्टेम्बरमा निगमको घाटा ६३ करोड रुपैयाँ भएको थियो।
भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा हुने देखिन्छ।
उनका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा, खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ भने मट्टीतेलमा प्रति लिटर १७ रुपैयाँ ८२ पैसा, हवाई इन्धन (आन्तरिक) ८ रुपैयाँ ८७ पैसा र हवाई इन्धन (बाह्य) ४५ रुपियाँ ६२ पैसा नाफा रहेको छ।
निगमले महिनामा पेट्रोलको विक्रीमा ११ करोड ७० लाख, डिजेलमा ३० करोड १५ लाख, ग्यासमा ४८ करोड घाटा व्यहोर्ने छ भने मट्टीतेलको विक्रीबाट एक करोड ७८ लाख, हवाई इन्धनबाट (दुवै तर्फ) २३ करोड नाफा कमाउने छ।
प्रतिडलर एक रुपैयाँ घट्दा निगमलाई मासिक १५ करोडको अतिरिक्त भार पर्ने बताउंदै गोइतले भने, “विगत महिनादिन देखि डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदा निगमलाई ठुलो आर्थिक नोक्सान भएको छ।”
। नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ।
निगमले घाटा ब्यहोरे पनि चाडपर्वको समय भएको हुनाले उपभोक्तालाई मध्यनजर गर्दै तत्काल मूल्य समायोजन गर्ने बिषयमा निगम निर्णयमा पुगिनसकेको निगम स्रोतले जनाएको छ।
