काठमाडौँ: सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको जानकारी दिए ।
समितिले घटनाको कारण र वास्तविकता पत्ता लगाएर सरकारलाई प्रतिवेदन बुझाउने छ । केही अघि नेपालीले राजधानीको त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए ।
त्यसैगरी, मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबिच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
प्रवक्ता पोखरेलले यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध भएको बताए ।
सरकार र मिटरब्याज विरुद्ध आन्दोलनका प्रतिनिधिबिच भएको समझदारीलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।



