काठमाडौं: नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा किसानले सहज रूपमा मल नपाएको बताए। उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा नपुगेको गुनासो व्यापक रूपमा आएको उनको भनाइ छ।
प्रचण्डले नेपालमा रासायनिक मल आयात प्रक्रिया जटिल हुने भएकाले समयमै पूर्वतयारी आवश्यक पर्ने उल्लेख गरेका छन्। आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरता बुझेर समयमै मल आपूर्ति र वितरण गरेको तथा आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको दाबी गरेका छन्।
उनले सरकारले यथाशीघ्र रासायनिक मल आयात प्रक्रिया सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न आग्रह गरेका छन्।
साथै, किसानले सहज, पारदर्शी र समन्यायिक रूपमा रासायनिक मल प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारसँग उनले माग गरेका छन्।


