काठमाडौँ: रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)को टोलीले बालिकाको माटोमुनिबाट उद्धार गरेको हो। शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको एपीएफको टोलीले बालिकाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।
भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीले रसुवागढीसहित तल्लो तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको थियो। बाढीमा हराइरहेका मानिसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्।
यसैक्रममा सशस्त्रको टोलीले टिमुरे क्षेत्रमा खोज तथा उद्धार गरिरहेको छ। खोजबिनका क्रममा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट टिमुरेबाट करिब दुई सय मिटर नजिक बाढीले थुपारेको ढुंगा र काठभित्रबाट बालिकाको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
टिमुरेबाट उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर रहेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए। थप जानकारी लिने काम भइरहेको उनले बताए।
उद्धारपछि सशस्त्र प्रहरीले सुरक्षित स्थानमा राखेर प्राथमिक उपचार गरेको छ। शुक्रबार साँझ टिमुरे बीओपीमै सुरक्षित राखिएको थियो।
शनिबार थप उपचारका लागि उनलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।


