काठमाडौँ: भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवाको विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको सूर्यगढीदेखि रसुवा सीमासम्म करिब एक किलोमिटर नयाँ ११ केभी लाइन निर्माण गरी जिल्लाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःसञ्चालन गरेको जनाएको छ।

भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न स्थानमा विद्युत् पोल, तार तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको थियो। बाढी र पहिरोले विद्युत् वितरण प्रणालीमा क्षति पुर्‍याएपछि प्राधिकरणले तत्काल वैकल्पिक माध्यमबाट आपूर्ति पुनःस्थापनाको काम अघि बढाएको हो।

नुवाकोटको सूर्यगढीदेखि रसुवाको सीमासम्म निर्माण गरिएको नयाँ ११ केभी लाइनबाट कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनमा आएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको तत्काल मर्मत सम्भव नभएका स्थानमा वैकल्पिक तथा लामो दूरीका लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो।

प्राधिकरणका अनुसार वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति भइरहेकाले केही स्थानमा भोल्टेजमा समस्या देखिन सक्छ। यद्यपि, सामान्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने जनाइएको छ।

नुवाकोट, धादिङ र रसुवाका गरी बाढीबाट प्रभावित करिब ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन गर्ने लक्ष्यसहित प्राधिकरणले काम गरिरहेको छ। बाँकी प्रभावित क्षेत्रमा पनि एक साताभित्र विद्युत् आपूर्ति पूर्ण रूपमा पुनःस्थापित गर्ने लक्ष्य राखिएको छ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल र बागमती प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरको नेतृत्वमा सम्बन्धित वितरण केन्द्रका प्रमुखसहितको प्राविधिक टोली रसुवालगायत प्रभावित क्षेत्रमा पुनःस्थापनाका लागि खटिएको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद टोलीले पोल गाड्ने, तार तान्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक लाइन निर्माणलाई तीव्रता दिएको छ।

यसैबीच, अस्थायी तथा लामो दूरीका लाइनबाट विद्युत् आपूर्ति भइरहेकाले सुरक्षा जोखिम हुन सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। विद्युत्को तार चुँडिएको, पोल ढलेको वा तारले रुख छोएको देखिएमा नछुन तथा तत्काल नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version