काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार पुनर्निर्माणलाई तीव्रता दिइएसँगै धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने रसुवाका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै पुनःविद्युतीकरणको काम अघि बढाएको थियो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। नुवाकोटका सम्पूर्ण क्षेत्रमा भदौ २४ गतेसम्म विद्युत् सेवा सुचारु गरिएको थियो भने धादिङमा त्यसअघि नै विद्युत् आपूर्ति पुनःस्थापित गरिएको थियो।

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा भने करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् पुगेको मन्त्रालयले जनाएको छ। उत्तरगया गाउँपालिका–१ तथा गोसाईंकुण्ड गाउँपालिकाका वडा नं। १, २ र ३ बाहेक जिल्लाका अन्य सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको प्रवक्ता शाक्यले बताए।

राष्ट्रिय विद्युत् वितरण प्रणाली नपुगेका क्षेत्रहरूमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणाली जडान गरी विद्युत् सेवा क्रमशः पुनःस्थापना भइरहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version